6
संगीत प्रमुखलाई, तार वाद्यमा शिमिनिथको सहयोगद्वारा, दाऊदको भजन। 
 1 हे परमप्रभु, तपाईं क्रोधित भएको समयमा मलाई नहप्काउनुहोस्। 
तपाईं क्रोधित नहुनुहोस् अनि मलाई सजाय नदिनुहोस्। 
 2 हे परमप्रभु, ममाथि दया राख्नुहोस् 
कारण म रोगी र कमजोर छु। 
मलाई निको पार्नुहोस्! 
मेरो हड्डीहरू दुःखिरहेका छन्। 
 3 मेरो सम्पूर्ण शरीर कामि रहेकोछ, 
परमप्रभु, कहिले सम्म मलाई निको पार्नुहुन्छ? 
 4 परमप्रभु, फेरि फर्की आउँनुहोस् र मलाई बलियो बनाउनुहोस! 
तपाईं अत्यन्त दयालु हुनुहुन्छ, यसैले मलाई बचाउनुहोस्। 
 5 मरिसकेकाहरूले आफ्नो चिहानबाट तपाईंलाई सम्झने होइनन्। 
मृत्युको घाटबाट कसैले तपाईंको स्तुति गर्न सक्दैनन्। 
यसैले मलाई निको पार्नुहोस्! 
 6 हे परमप्रभु, रातभरि मैले तपाईंलाई प्रार्थना गरिरहें। 
मेरो आँसुले ओछ्यान लथ्पथ् भिजेको छ। 
आँसु मेरो ओछ्यानबाच तप-तप तप्किरहेछ। 
म तपाईंको लागि कराएर, चिच्याएर थाकिसकें। 
 7 मेरो शत्रुहरूले मलाई धेरै दुःख-कष्टहरू दिए। 
त्यसले मलाई अत्यन्त दुःखी र व्यथित बनायो। 
अब मेरो आँखाहरू रूँदा-रूँदा शिथिल भएकाछन्। 
 8 दुष्ट काम गर्ने प्रत्येक मानिस मबाट टाढा जाऊ! 
किनभने परमप्रभुले मेरो विलाप सुन्नु भएकोछ। 
 9 परमप्रभुले मेरो प्रार्थना सुन्नुहुन्छ 
अनि परमप्रभुले मेरो प्रार्थना ग्रहण गर्दै जवाफ दिनुहुन्छ। 
 10 मेरा सबै शत्रुहरू विरक्त दुःखी र निराश हुनेछन्। 
अचानक केही कुरा अवश्य घट्नेछ र तिनीहरू लज्जित हुनेछन्।