40
 1 तब परमप्रभुले मोशालाई यसो भन्नुभयो,  2 “नयाँ वर्षको पहिलो महिनाको पहिलो दिनमा तैँले पवित्र वासस्थान अर्थात् भेट हुने पाल खडा गर्नू ।  3 तैँले यसभित्र गवाहीको सन्दुक राख्नू, र यसलाई पर्दाले छेक्नू ।  4 तैँले टेबुललाई भित्र ल्याएर यसमाथि राखिने थोकहरू मिलाएर राख्नू । त्यसपछि तैँले सामदान भित्र ल्याएर दियाहरू मिलाउनू ।  5 तैँले गवाहीको सन्दुकको सामुन्ने सुनको धूपको वेदी राख्नू, र पवित्र वासस्थानको प्रवेशद्वारमा पर्दा राख्नू ।  6 तैँले पवित्र वासस्थान अर्थात् भेट हुने पालको प्रवेशद्वारको सामुन्ने होमबलिको लागि वेदी राख्नू ।  7 तैँले भेट हुने पाल र वेदीका बिचमा ठुलो बाटा राख्नू र त्यसभित्र पानी हाल्नू ।  8 चोकको वरिपरि घेरा हाली यसको प्रवेशद्वारमा पर्दा झुण्ड्याउनू । तैँले अभिषेक गर्ने तेल लिई पवित्र वासस्थान र यसभित्र भएको हरेक थोकलाई अभिषेक गर्नू ।  9 तैँले यसलाई र यसका सबै सरसामान मेरो लागि अलग गर्नू । तब यो पवित्र हुनेछ ।  10 तैँले होमबलिको निम्ति वेदी र यसका सबै भाँडाकुँडालाई अभिषेक गर्नू । तैँले वेदी मेरो निम्ति अलग गर्नू र त्यो मेरो लागि अति पवित्र हुनेछ ।  11 तैँले काँसाको बाटा र यसको खुट्टा अभिषेक गरेर यसलाई मेरो लागि अलग गर्नू ।  12 तैँले हारून र त्यसका छोराहरूलाई भेट हुने पालको प्रवेशद्वारमा ल्याई तिनीहरूलाई पानीले नुहाइदिनुपर्छ ।  13 मेरो लागि अलग गरिएका पोशाकहरू तैँले हारूनलाई लगाइदिनू र त्यसले पुजारी बनेर मेरो सेवा गरोस् भनेर त्यसलाई अभिषेक गरी मेरो निम्ति अलग गर्नू ।  14 त्यसका छोराहरूलाई ल्याई तिनीहरूलाई लबेदा पहिराइदिनू ।  15 पुजारी बनेर तिनीहरूले मेरो सेवा गरून् भनेर तैँले तिनीहरूका पितालाई जस्तै तिनीहरूलाई अभिषेक गर्नू । तिनीहरूको अभिषेकले पुस्ता-पुस्तासम्म तिनीहरूलाई स्थायी पुजारीको पद प्रदान गर्छ ।”  16 मोशाले त्यसै गरे । परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनले गरे । तिनले यी सबै गरे ।  17 यसरी दोस्रो वर्षको पहिलो महिनाको पहिलो दिनमा पवित्र वासस्थान खडा भयो ।  18 मोशाले पवित्र वासस्थान खडा गरे, यसका आधारहरू ठाउँमा राखे, यसका फल्याकहरू खडा गरे, यसका बारहरू जोडे र यसका डन्डाहरू र खम्बाहरू खडा गरे ।  19 परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनले पवित्र वासस्थानमाथि पाल फिँजाएर त्यसमाथि छत राखे ।  20 तिनले करारका आज्ञाहरूलाई लिई तिनले सन्दुकभित्र हाले । तिनले  21 सन्दुकमा डन्डाहरू हालेर त्यसमाथि प्रायश्चित्तको ढकनी राखे । तिनले सन्दुकलाई पवित्र वासस्थानमा ल्याए । परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनले गवाहीको सन्दुकलाई छेक्ने पर्दा टाँगे ।  22 तिनले पर्दाको बाहिरपट्टि भेट हुने पाल अर्थात् पवित्र वासस्थानको उत्तरपट्टि टेबुल राखे ।  23 परमप्रभुले तिनलाई आज्ञा गर्नुभएअनुसार तिनले परमप्रभुको सामु टेबुलमा रोटी मिलाएर राखे ।  24 तिनले भेट हुने पाल अर्थात् पवित्र वासस्थानको दक्षिणपट्टि टेबुलको सामु सामदान राखे ।  25 परमप्रभुले तिनलाई आज्ञा गर्नुभएअनुसार तिनले परमप्रभुको सामु दियाहरू बाले ।  26 तिनले भेट हुने पालभित्र पर्दाको सामुन्ने सुनको धूपको वेदी राखे ।  27 परमप्रभुले तिनलाई आज्ञा गर्नुभएअनुसार तिनले यसमाथि सुगन्धित धूप बाले ।  28 तिनले पवित्र वासस्थानको प्रवेशद्वारमा पर्दा झुण्ड्याए ।  29 तिनले भेट हुने पाल अर्थात् पवित्र वासस्थानको प्रवेशद्वारमा होमबलिको वेदी राखे । परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनले यहीँ नै होमबलि र अन्नबलि चढाए ।  30 तिनले भेट हुने पाल र यस वेदीको बिचमा बाटा राखी त्यसमा धुनलाई पानी राखे ।  31 मोशा, हारून र तिनका छोराहरूले बाटाको पानीबाट तिनीहरूका हात-खुट्टा धुने गर्थे ।  32 तिनीहरू भेट हुने पालभित्र प्रवेश गर्दा र वेदीमा जाँदा तिनीहरूले धुने गर्थे । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार तिनीहरूले आ-आफूलाई धुने गर्थे ।  33 मोशाले पवित्र वासस्थान र वेदीको वरिपरि चोक खडा गरे । तिनले चोकको प्रवेशद्वारमा पर्दा राखे । यसरी मोशाले काम पुरा गरे ।  34 तब बादलले भेट हुने पाललाई ढाक्यो, अनि परमप्रभुको महिमाले पवित्र वासस्थान भरियो ।  35 भेट हुने पालमाथि बादल आएर बसेकोले र परमप्रभुको महिमाले पवित्र वासस्थान भरिएकोले मोशा यसभित्र प्रवेश गर्न सकेनन् ।  36 पवित्र वासस्थानबाट बादल उठाइँदा इस्राएलका मानिसहरू आफ्नो बाटो लाग्थे ।  37 तर पवित्र वासस्थानबाट बादल नउठ्दा मानिसहरूले यात्रा गर्दैनथे । बादल नउठेसम्म तिनीहरू बसिरहन्थे ।  38 किनकि इस्राएलका मानिसहरूका सबै यात्राभरि तिनीहरूले देख्ने गरी दिनमा परमप्रभुको बादल र रातमा उहाँको आगो पवित्र वासस्थानमाथि हुन्थ्यो ।