10
 1 अबीमेलेकपछि, एफ्राइमको पहाडी देशको शामीरमा बसोबास गर्ने इस्साखारका एक जना मानिस, दोदोका नाति पुवाका छोरा तोला इस्राएललाई छुटकारा दिनको निम्ति खडा भए ।  2 तिनले तेईस वर्षसम्म इस्राएलको न्याय गरे । तिनी मरे र तिनलाई शामीरमा दफन गरियो ।  3 तिनी पछि गिलादी याईर आए । तिनले बाईस वर्षसम्म इस्राएलको न्याय गरे ।  4 तिनका तिस जना छोराहरू थिए जो तिसवटा गधाहरूमा सवार हुन्थे र तिनीहरूका तिसवटा सहरहरू थिए, जसलाई आजको दिनसम्म हब्बात याईर भनिन्छ, जुन गिलाद देशमा पर्छ ।  5 याईर मरे र उनलाई कामोनमा दफन गरियो ।  6 इस्राएलका मानिसहरूले परमप्रभुको दृष्टिमा जे खराब थियो त्यही गरेका कुरामाथि तिनीहरूले झमै थप गरे र बाल देवताहरू र अश्तोरेत देवीहरू, अरामका देवताहरू, सीदोनका देवताहरू, मोआबका देवताहरू, अम्मोनका मानिसहरूका देवताहरू र पलिश्तीहरूका देवीहरूको पुजा गरे । तिनीहरूले परमप्रभुलाई त्यागे र फेरि उहाँको आराधना गरेनन् ।  7 इस्राएलप्रति परमप्रभु रिसले क्रोधित हुनुभयो, र उहाँले तिनीहरूलाई पलिश्तीहरूका हातमा र अम्मोनीहरूका हातमा बेचिदिनुभयो ।  8 तिनीहरूले त्यस वर्ष इस्राएलका मानिसहरूलाई थिचोमिचो गरे अत्याचार गरे, र अठार वर्षसम्म तिनीहरूले यर्दनपारी एमोरीहरूको देश अर्थात् गिलादमा भएका सबै इस्राएलीमाथि अत्याचार गरे ।  9 त्यसपछि अम्मोनीहरू यहूदाको विरुद्धमा, बेन्यामीनका विरुद्धमा, र एफ्राइमका घरानाको विरुद्ध युद्ध लड्नको निम्ति यर्दनपारि गए, ताकि इस्राएल धेरै नै व्याकुल भए ।  10 तब इस्राएलका मानिसहरूले परमप्रभुलाई यसो भनेर पुकारा गरे, “हामीले तपाईंको विरुद्धमा पाप गरेका छौं, किनभने हामीले आफ्ना परमेश्वरलाई त्यागेका छौ र बाल देवताहरूको पुजा गरेका छौं ।”  11 परमप्रभुले इस्राएलका मानिसहरूलाई भन्नुभयो, “के मैले तिमीहरूलाई मिश्रीहरू, एमोरीहरू, अम्मोनीहरू, पलिश्तीहरू,  12 र सीदोनीहरूबाट समत छुटकारा दिइनँ र? अमालेकीहरू र मिद्दानीहरूले तिमीहरूलाई अत्याचार गरे । तिमीहरूले मलाई पुकार्यौ, र मैले तिमीहरूलाई तिनीहरूका शक्तिबाट छुटाएँ ।  13 तापनि तिमीहरूले मलाई त्याग्यौ र अरू देवताहरूलाई पुज्यौ । यसकारण, मैले तिमीहरूलाई छुटकारा दिने मौकाहरू म अब निरन्तर थपिरहनेछैन ।  14 जाओ र तिमीहरूले पुजा गरेका देवताहरूलाई नै पुकारा गर । तिमीहरूमाथि समस्या आइपर्दा तिनीहरूले नै तिमीहरूलाई बचाऊन् ।”  15 इस्राएलका मानिसहरूले परमप्रभुलाई भने, “हामीले पाप गरेका छौं । तपाईंलाई जे असल लाग्छ त्यही हामीलाई गर्नुहोस् । कृपागरी आजको दिन मात्र हामीलाई बचाइदिनुहोस् ।”  16 तिनीहरूले आफ्ना बिचमा भएका विदेशी देवताहरू त्यागे र परमप्रभुको आराधना गरे । तब परमप्रभुले इस्राएलको दुःखलाई अरू बढी सहन सक्नुभएन ।  17 अनि अम्मोनीहरू एकसाथ भेला भए र गिलादमा छाउनी हाले । इस्राएलीहरू एकसाथ भेला भए र मिस्पामा आफ्नो छाउनी हाले ।  18 गिलादका मानिसहरूका अगुवाहरूले एक-अर्कामा यसो भने, “अम्मोनीहरूसँग युद्ध लड्न सुरु गर्ने मानिस को हो? ऊ नै गिलादमा बस्ने सबैका अगुवा हुनेछ ।”