11
इस्राएलहरूले परमप्रभुलाई भुल्यो 
 1 परमप्रभुले भन्नुभयो, “जब इस्राएल बालक थियो मैले त्यसलाई प्यारो गरें। 
तब मैले आफ्नो छोरालाई मिश्रदेशबाट बोलाएँ। 
 2 तर जति-जति मैले इस्राएलीहरूलाई बोलाएँ, 
त्यति-त्यति तिनीहरू मबाट टाढा भए। 
तिनीहरूले बाल देवताहरूलाई बलि चढाँइरहे। 
उनीहरूले मूर्तिको अगाडी धूप जलाए। 
 3 “एप्रैमलाई मैले हिँडन सिकाएँ। 
इस्राएललाई मैले अंगालोमा बोकें 
अनि मैले नै तिनीहरूलाई निको पारें। 
तर यी सबै कुरा तिनीहरू जान्दैनन्। 
 4 मैले तिनीहरूलाई प्रेमको डोरी 
मायाको बन्धनले बाँधेर डोर्याएँ। 
म त्यस्तो व्यक्ति थिएँ जसले उनीहरूलाई स्वतंत्र गराएँ, 
म निउरेर उनीहरूलाई खाना खुवाएँ। 
 5 “तर इस्राएलीहरूले परमेश्वर तर्फ जान अस्वीकार गरे। तिनीहरू फर्किएर मिश्र जाने छैनन्, सट्टामा अश्शूरका राजा नै तिनीहरूका राजा हुनेछन।  6 उनीहरूका शहरमाथि तरवार झुण्डाई दिइनेछ। यही तरवारद्वारा उनीहरूका शक्तिशाली मानिसहरूलाई वध गरिनेछ। उनीहरूको मुखियाहरूको काम नष्ट गरिइन्छ। 
 7 “मेरो प्रजाहरू फर्कने आशा गर्छन् उनीहरू माथिका परमेश्वरलाई पुकार्छन् तर परमेश्वरले उनीहरूलाई सहायता गर्नु हुँदैन।” 
परमप्रभुले इस्राएललाई नष्ट गर्न चहानुहुन्न 
 8 “हे एप्रैम म तिमीलाई कसरी छोडिदिऊँ? 
ए इस्राएल म तिम्रो रक्षा गर्न चाहँन्छु। 
म तिमीलाई कसरी अदमा जस्तै तुल्याऊँ! 
म चाहँदिन कि तिमीलाई सबोयीम जस्तै बनाऊँ। 
म आफ्नो मन बद्ली रहेछु, 
तिमीप्रति दयाले मन पग्लिरहेछ। 
 9 म मेरो प्रचण्ड रिसलाई जित्न दिनेछैन्। 
म फेरि एप्रैमलाई नष्ट पार्नेछैन। 
म त परमेश्वर हुँ, म कुनै मानिस होइन। 
म तिनीहरू माझ एक पवित्र छु। 
म तिमीहरूसँगै छु। 
म आफ्नो रिस देखाउँनेछैन। 
 10 म सिंह जस्तै गर्जने छु, म गर्जन्छु 
अनि मेरा संन्तान मसंग आउने छन्, 
र मेरो पछि-पछि हिँडनेछन्। 
मेरा सन्तानहरू डरले थर-थर काम्दै पश्चिमबाट आउनेछन्। 
 11 तिनीहरू चरा जस्तै वेगसित 
मिश्र देशबाट आउनेछन्। 
तिनीहरू अश्शूरको भूमिबाट ढुकुर जस्तै आउनेछन् 
अनि म तिनीहरूलाई घरमा पठाउनेछु।” 
परमप्रभुले यो भन्नु भयो। 
 12 “एप्रैमले मलाई झूटो देवताहरूले छोपेकोछ। 
इस्राएलका मानिसहरूले मेरो विरोधमा षड्यंत्र रचे। 
तर यहूदा अहिले सम्म परमेश्वरसँग छ। 
यहूदा पवित्र र साँचो छ।”