1जब शेबाकी रानीले सोलोमनको ख्‍यातिको बारेमा सुनिन्, तब कठिन प्रश्‍नहरू लिएर तिनको जाँच गर्न तिनी यरूशलेममा आइन्‌ । तिनी मसलाहरू, प्रशस्‍त सुन र धेरै बहुमूल्‍य रत्‍नहरूलाई ऊँटहरूमा लदाएर एक अत्‍यन्‍तै ठूलो लावालश्‍करसाथ आइन्‌ । जब तिनी सोलोमनकहाँ आइन्, तब तिनले आफ्‍नो मनमा भएका सबै कुरा उनलाई भनिन् । 2सोलोमनले तिनका सबै प्रश्‍नहरूका जवाफ दिए । सोलोमनको निम्ति कुनै कुरा पनि प्रश्‍न कठिन भएन । तिनले जवाफ नदिएको कुनै पनि प्रश्‍न बाँकी रहेन । 3जब शेबाकी रानीले सोलोमनको बुद्धि, र तिनले बनाएको राजमहल देखिन्, 4तिनको टेबलको भोजन, तिनका सेवकहरूका बसाइ, तिनका सेवकहरूका काम र तिनीहरूका पोशाकहरू, र तिनका मद्य पियाउनेहरू र तिनका पोशाकहरू, र परमप्रभुको मन्‍दिरमा तिनले चढाएका होमबलिहरू देखिन्, र तिनी आश्‍चर्यचकित भइन्‌ । 5तिनले राजालाई भनिन्, “तपाईंका वचन र तपाईंको बुद्धिको विषयमा मैले आफ्‍नो देशमा सुनेको कुरा साँचो रहेछ । 6म यहाँ नआएसम्‍म मैले जे सुनें त्‍यो मैले विश्‍वास गरिनँ, र अहिले मेरा आँखाले यी देखेका छन् । तपाईंको बुद्धि र सम्पत्तिको विषयमा मलाई आधा कुरा पनि भनिएको रहेनछ! तपाईंको ख्‍याति मैले सुनेको भन्दा बढी रहेछ । 7तपाईंका मानिसहरू कति धन्‍यका हुन् र निरन्‍तर तपाईंको सामु खडा रहने तपाईंका सेवकहरू कति धन्‍यका हुन् किनभने तिनीहरूले तपाईंका बुद्धिका कुराहरू सुन्‍न पाउँछन् । 8तपाईंसित प्रसन्‍न भई तपाईंलाई राजा नियुक्त गरेर उहाँको सिंहासनमा बसाल्‍नुहुने परमप्रभु तपाईंका परमेश्‍वर धन्‍यका होउन् । किनभने इस्राएललाई सदाको निम्ति स्थापित गराउनलाई तपाईंका परमेश्‍वरले त्‍यसलाई प्रेम गर्नुभयो । तपाईंले न्‍याय र धार्मिकता कायम राख्‍नलाई उहाँले तपाईंलाई तिनीहरूमाथि राजा बनाउनुभयो !” 9तिनले राजालाई चार टन सुन, प्रशस्‍त मात्रामा मसला र बहुमूल्‍य रत्‍नहरू दिइन्‌ । सोलोमन राजालाई शेबाकी रानीले दिएको जति धेरै मसलाहरू तिनलाई फेरि कसैले पनि दिएन । 10ओपीरबाट सुन ल्याउने हीरामका सेवकहरू र सोलोमनका सेवकहरूले चन्‍दनको काठ र बहुमूल्‍य रत्‍नहरू पनि ल्‍याए । 11चन्दनका काठबाट राजाले परमप्रभुको मन्‍दिर र राजमहलका सिंढी र संगीतकारहरूका निम्‍ति वीणा र सारङ्गीहरू पनि बनाए । यहूदा देशमा यसभन्दा अघि कहिल्‍यै पनि यस्‍ता काठहरू देखिएका थिएनन्‌ । 12शेबाकी रानीले जे इच्‍छा गरिन् र जे मागिन् ती हरेक कुरा सोलोमन राजाले तिनलाई दिए । तिनले राजालाई ल्‍याएर दिएका थोकभन्‍दा धेरै तिनले उनलाई दिए । यसरी उनी बिदा भइन् र आफ्ना सेवकहरूका साथ आफ्‍नो देशमा फर्किन्‌ । 13सोलोमनकहाँ हरेक वर्षमा आएको सुनको तौल तेईस टन हुन्‍थ्‍यो, 14यो व्‍यापारीहरू र कारोवारीले ल्याएका सुनबाहेको थियो । अरब देशका सबै राजा र प्रादेशिक गभर्नरहरूले पनि राजाको निम्‍ति सुन र चाँदी ल्‍याए । 15सोलोमन राजाले पिटेका सुनका दुई सय ठूला ढाल बनाए । प्रत्‍येक ढाल बनाउन साढे तिन किलोग्राम सुन लागेको थियो । 16पिटेको सुनका तिन सय साना ढाल पनि तिनले बनाए । प्रत्‍येक ढालमा करीब डेढ किलोग्राम सुन थियो । राजाले लेबनानको वन भनिने राजमहलमा ती राखे । 17तब राजाले हस्‍ती-हाडको एउटा ठूलो सिंहासन बनाए र त्‍यसमा निखुर सुनको जलप लगाए । 18सिंहासनमा उक्‍लने छ वटा खुट्‌किला थिए, र सुनको एउटा पाउदान सिंहासनसँग जोडिएको थियो । आसनका दुवैतिर हात अड्याउने ठाउँ थिए दुवै छेउमा दुई वटा सिंह खडा थिए । 19छ वटै खुट्‌किलाका दुवैपट्टि एक-एक वटा गरी जम्‍मा बाह्र वटा सिंह खडा थिए । कुनै पनि राज्‍यमा यस्‍तो किसिमको सिंहासन थिएन । 20सोलोमनका पिउने कचौरा सबै सुनका थिए, र लेबनानको वन भनिने राजमहलमा भएका पिउने कचौरा सबै सुनका थिए । चाँदीको केही पनि थिएन, किनभने सोलोमनको समयमा चाँदीलाई बहुमूल्य ठानिइन । 21हिरामका समुद्री जहाजका साथमा राजाका पनि जहाजहरू थिए । हरेक तिन वर्षमा एक पल्‍ट यी जहाजहरूले सुन, चाँदी, हस्‍ती-हाड, ढेडुहरू र बाँदरहरू लिएर आउँथ्‍यो । 22यसरी सोलोमन राजाले धन-सम्‍पत्ति र बुद्धिमा पृथ्‍वीका अरू सबै राजालाई जितेका थिए । 23परमेश्‍वरले सोलोमनको हृदयमा हालिदिनुभएको तिनको बुद्धि सुन्‍न पृथ्‍वीका सबै राजाले तिनको उपस्‍थितिमा बस्‍न खोज्‍थे । 24आउने हरेकले आफ्‍नो सौगात चाँदी र सुनका भाँडाहरू, लुगाहरू, हातहतियार र मसलाहरू अनि घोडा र खच्‍चरहरू वर्षैपिच्‍छे ल्‍याउँथे । 25सोलोमनसँग आफ्‍ना घोडा र रथहरूका निम्‍ति चार हजार तबेला थिए । अनि तिनका बाह्र हजार घोडचडी थिए, जसलाई तिनले रथहरू राख्‍ने सहरहरूमा र अरूलाई चाहिं आफूसित यरूशलेममा राखे । 26तिनले यूफ्रेटिस नदीदेखि पलिश्‍तीहरूका देश र मिश्रदेशको सिमानासम्‍मै राज्‍य गरे । 27राजासँग यरूशलेममा चाँदीचाहिं ढुङ्गैसरह थिए । तिनले देवदारुको काठचाहिं पहाडका जङ्गली अञ्‍जीरका बोटहरूसरह तुल्‍याए । 28तिनीहरूले सोलोमनका निम्ति मिश्रदेश र अरू सबै देशबाट घोडाहरू ल्याए । 29सोलोमनको शासनकालका अरू घटनाहरू सुरुदेखि अन्‍त्‍यसम्‍मै नातान अगमवक्ताको इतिहास, शीलोनी अहियाहको अगमवाणी र दर्शी इद्दोका दर्शनको पुस्‍तकमा (जसमा नबातका छोरा यारोबामको विषयमा पनि जानकारी छ) वर्णन गरिएका छैनन्‌ र? 30सोलोमनले यरूशलेममा सारा इस्राएलमाथि चालिस वर्ष राज्‍य गरे । 31त्‍यसपछि तिनी आफ्‍ना पर्खाहरूसित सुते, र मानिसहरूले तिनका बुबा दाऊदको सहरमा गाडे । तिनका ठाउँमा तिनका छोरा रहबाम राजा भए