1तब परमप्रभुले मोशालाई यसो भन्नुभयो, 2“नयाँ वर्षको पहिलो महिनाको पहिलो दिनमा तैँले पवित्र वासस्थान अर्थात् भेट हुने पाल खडा गर्नू । 3तैँले यसभित्र गवाहीको सन्दुक राख्नू, र यसलाई पर्दाले छेक्नू । 4तैँले टेबुललाई भित्र ल्याएर यसमाथि राखिने थोकहरू मिलाएर राख्नू । त्यसपछि तैँले सामदान भित्र ल्याएर दियाहरू मिलाउनू । 5तैँले गवाहीको सन्दुकको सामुन्ने सुनको धूपको वेदी राख्नू, र पवित्र वासस्थानको प्रवेशद्वारमा पर्दा राख्नू । 6तैँले पवित्र वासस्थान अर्थात् भेट हुने पालको प्रवेशद्वारको सामुन्ने होमबलिको लागि वेदी राख्नू । 7तैँले भेट हुने पाल र वेदीका बिचमा ठुलो बाटा राख्नू र त्यसभित्र पानी हाल्नू । 8चोकको वरिपरि घेरा हाली यसको प्रवेशद्वारमा पर्दा झुण्ड्याउनू । तैँले अभिषेक गर्ने तेल लिई पवित्र वासस्थान र यसभित्र भएको हरेक थोकलाई अभिषेक गर्नू । 9तैँले यसलाई र यसका सबै सरसामान मेरो लागि अलग गर्नू । तब यो पवित्र हुनेछ । 10तैँले होमबलिको निम्ति वेदी र यसका सबै भाँडाकुँडालाई अभिषेक गर्नू । तैँले वेदी मेरो निम्ति अलग गर्नू र त्यो मेरो लागि अति पवित्र हुनेछ । 11तैँले काँसाको बाटा र यसको खुट्टा अभिषेक गरेर यसलाई मेरो लागि अलग गर्नू । 12तैँले हारून र त्यसका छोराहरूलाई भेट हुने पालको प्रवेशद्वारमा ल्याई तिनीहरूलाई पानीले नुहाइदिनुपर्छ । 13मेरो लागि अलग गरिएका पोशाकहरू तैँले हारूनलाई लगाइदिनू र त्यसले पुजारी बनेर मेरो सेवा गरोस् भनेर त्यसलाई अभिषेक गरी मेरो निम्ति अलग गर्नू । 14त्यसका छोराहरूलाई ल्याई तिनीहरूलाई लबेदा पहिराइदिनू । 15पुजारी बनेर तिनीहरूले मेरो सेवा गरून् भनेर तैँले तिनीहरूका पितालाई जस्तै तिनीहरूलाई अभिषेक गर्नू । तिनीहरूको अभिषेकले पुस्ता-पुस्तासम्म तिनीहरूलाई स्थायी पुजारीको पद प्रदान गर्छ ।” 16मोशाले त्यसै गरे । परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनले गरे । तिनले यी सबै गरे । 17यसरी दोस्रो वर्षको पहिलो महिनाको पहिलो दिनमा पवित्र वासस्थान खडा भयो । 18मोशाले पवित्र वासस्थान खडा गरे, यसका आधारहरू ठाउँमा राखे, यसका फल्याकहरू खडा गरे, यसका बारहरू जोडे र यसका डन्डाहरू र खम्बाहरू खडा गरे । 19परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनले पवित्र वासस्थानमाथि पाल फिँजाएर त्यसमाथि छत राखे । 20तिनले करारका आज्ञाहरूलाई लिई तिनले सन्दुकभित्र हाले । तिनले 21सन्दुकमा डन्डाहरू हालेर त्यसमाथि प्रायश्चित्तको ढकनी राखे । तिनले सन्दुकलाई पवित्र वासस्थानमा ल्याए । परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनले गवाहीको सन्दुकलाई छेक्ने पर्दा टाँगे । 22तिनले पर्दाको बाहिरपट्टि भेट हुने पाल अर्थात् पवित्र वासस्थानको उत्तरपट्टि टेबुल राखे । 23परमप्रभुले तिनलाई आज्ञा गर्नुभएअनुसार तिनले परमप्रभुको सामु टेबुलमा रोटी मिलाएर राखे । 24तिनले भेट हुने पाल अर्थात् पवित्र वासस्थानको दक्षिणपट्टि टेबुलको सामु सामदान राखे । 25परमप्रभुले तिनलाई आज्ञा गर्नुभएअनुसार तिनले परमप्रभुको सामु दियाहरू बाले । 26तिनले भेट हुने पालभित्र पर्दाको सामुन्ने सुनको धूपको वेदी राखे । 27परमप्रभुले तिनलाई आज्ञा गर्नुभएअनुसार तिनले यसमाथि सुगन्धित धूप बाले । 28तिनले पवित्र वासस्थानको प्रवेशद्वारमा पर्दा झुण्ड्याए । 29तिनले भेट हुने पाल अर्थात् पवित्र वासस्थानको प्रवेशद्वारमा होमबलिको वेदी राखे । परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनले यहीँ नै होमबलि र अन्नबलि चढाए । 30तिनले भेट हुने पाल र यस वेदीको बिचमा बाटा राखी त्यसमा धुनलाई पानी राखे । 31मोशा, हारून र तिनका छोराहरूले बाटाको पानीबाट तिनीहरूका हात-खुट्टा धुने गर्थे । 32तिनीहरू भेट हुने पालभित्र प्रवेश गर्दा र वेदीमा जाँदा तिनीहरूले धुने गर्थे । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार तिनीहरूले आ-आफूलाई धुने गर्थे । 33मोशाले पवित्र वासस्थान र वेदीको वरिपरि चोक खडा गरे । तिनले चोकको प्रवेशद्वारमा पर्दा राखे । यसरी मोशाले काम पुरा गरे । 34तब बादलले भेट हुने पाललाई ढाक्यो, अनि परमप्रभुको महिमाले पवित्र वासस्थान भरियो । 35भेट हुने पालमाथि बादल आएर बसेकोले र परमप्रभुको महिमाले पवित्र वासस्थान भरिएकोले मोशा यसभित्र प्रवेश गर्न सकेनन् । 36पवित्र वासस्थानबाट बादल उठाइँदा इस्राएलका मानिसहरू आफ्नो बाटो लाग्थे । 37तर पवित्र वासस्थानबाट बादल नउठ्दा मानिसहरूले यात्रा गर्दैनथे । बादल नउठेसम्म तिनीहरू बसिरहन्थे । 38किनकि इस्राएलका मानिसहरूका सबै यात्राभरि तिनीहरूले देख्ने गरी दिनमा परमप्रभुको बादल र रातमा उहाँको आगो पवित्र वासस्थानमाथि हुन्थ्यो ।