1के मानिसले पृथ्वीमा कठिन परिश्रम गर्दैन र ? के उसका दिन ज्यालादारी मानिसका दिनजस्तै हुँदैनन् र ? 2एउटा दासले उत्सुकतासाथ साँझको छायाको इच्छा गरेझैं, एक जना ज्यालादारीले आफ्नो ज्यालाको आशा गर्छ । 3यसरी मलाई दुःखका महिनाहरू सहन लगाइएको छ । मलाई कष्टले भरिएका रातहरू दिइएका छन् । 4म पल्टिदाँ म आफैलाई भन्छु, 'म कहिले ब्युँझनेछु, र रात कहिले बित्नेछ ?' मिरमिरे उज्यालो नहुञ्जेल म यताउता छटपटाउँछु । 5मेरो शरीर किराहरू र धूलोको डल्लाहरूले ढाकिएको छ । मेरो जीउका खटिरा टन्किन्छन्, र फुट्छन् र पिप बग्छन् । 6मेरा दिनहरू सिलाउनेको चक्काभन्दा चाँडो बित्छन् । ती आशाविनै बितेर जान्छन् । 7हे परमेश्वर, मेरो जीवनलाई केवल एक सास सम्झनुहोस् । मेरो आँखाले फेरि असल देख्न पाउनेछैन । 8मलाई हेर्ने परमेश्वरका आँखाले फेरि मलाई हेर्ने छैन । परमेश्वरका आँखा ममाथि हुनेछ, तर मेरो अस्तत्व हुनेछैन । 9जसरी बादल फट्छ र हराएर जान्छ, त्यसरी नै चिहानमा जाने फेरि फर्केर आउनेछैन । 10ऊ फेरि आफ्नो घरमा फर्कनेछैन, न त उसको ठाउँले फेरि उसलाई चिन्नेछ । 11त्यसकारण म आफ्नो मुख बन्द गर्दिन । म आफ्नो आत्माको वेदनामा बोल्नेछु । म आफ्नो प्राणको तिक्ततामा गनगन गर्नेछु । 12तपाईंले ममाथि रक्षक राख्नलाई, के म समुद्र वा समुद्रको राक्षस हुँ र ? 13जब म भन्छु, 'मेरो ओछ्यानले मलाई सान्त्वना दिनेछ, र मेरो खाटले मेरो गुनासोलाई चैन दिन्छ,' 14तब तपाईंले सपनाहरूले मलाई तर्साउनुहुन्छ र दर्शनहरूद्वारा मलाई आतङ्कित पार्नुहुन्छ, 15जसले गर्दा मेरा यी हड्डीलाई जोगाउनुभन्दा, बरु घाँटी च्याप्ने कुरा र मृत्युलाई रोज्छु । 16म मेरो जीवनलाई घृणा गर्छु । म सधैँ जिउने इच्छा गर्दिनँ । मलाई एक्लै छोडिदिनुहोस्, किनकि मेरा दिनहरू व्यर्थ छन् । 17मानिस के हो र तपाईंले उसको ख्याल राख्नुपर्ने, तपाईंले आफ्नो मनलाई उसमा लगाउनुपर्ने, 18हरेक बिहान तपाईंले उसको हेरचाह गर्नुपर्ने, हरेक क्षण उसको जाँच गर्नुपर्ने ? 19तपाईंले आफ्ना आँखा मबाट कहिले हटाउनुहुन्छ, आफ्नो थुक निल्न मलाई तपाईंले कहिले एक्लै छोड्नुहुन्छ ? 20मैले पाप नै गरेको भए पनि, हे मानिसलाई हेर्नुहुने, त्यसले तपाईंलाइ के हुन्छ त ? तपाईंले मलाई किन निसाना बनाउनुभएको छ जसको कारण म तपाईंको लागि बोझ छु ? 21किन मेरो अपराध तपाईंले क्षमा गर्नुहुन्न र मेरो अधर्म हटाउनुहुन्न ? अब म धूलोमा पल्टनेछु । तपाईंले मलाई ध्यानपूर्वक खोज्नुहुनेछ, तर मेरो अस्तित्व रहनेछैन ।”