1विपत्तिपछि परमप्रभुले मोशा र पुजारी हारूनका छोरा एलाजारलाई भन्‍नुभयो, 2“इस्राएलका सारा समुदायलाई तिनीहरूका पुर्खाहरूका कुल-कुलअनुसार बिस वर्ष र त्यसभन्दा माथिका इस्राएलका निम्ति युद्धमा जान सक्‍ने सबैको गन्ती गर ।” 3त्यसैले मोशा र पुजारी एलाजारले यर्दन नजिकैको मोआबको मैदान यरीहोमा तिनीहरूलाई भने, 4“परमप्रभुले मोशा र इस्राएलका मानिसहरूलाई आज्ञा गर्नुभएअनुसार बिस वर्ष र त्यसभन्दा माथिका मिश्रबाट आएका मानिसहरूको गन्ती गर ।” 5रूबेन इस्राएलका जेठा छोरा थिए । तिनको छोरा हानोकबाट हानोकीहरूको वंश आयो । पल्लुबाट पल्लुईहरूको वंश आयो । 6हेस्रोनबाट हेस्रोनीहरूको वंश आयो । कर्मीबाट कर्मीहरूको वंश आयो । 7यिनीहरू रूबेनका कुलहरू थिए, जसको सङ्ख्या ४३,७३० थियो । 8एलीआब पल्लुका छोरा थिए । 9एलीआबका छोराहरू नमूएल, दातान र अबीराम थिए । मोशा र हारूनलाई चुनौती दिँदा अनि परमप्रभुको विरुद्धमा विद्रोह गर्दा कोरहको पछि लाग्‍ने दातान र अबीराम यिनै थिए । 10कोरहलाई पछ्याउने सबै मर्दा पृथ्वीले मुख बायो र तिनीहरूलाई निल्यो । त्यस बेला २५० जना आगोले भस्म भए, जो चेताउनीका सङ्केत भए । 11तर कोरहका वंश मरेनन् । 12शिमियोनका सन्तानहरू यिनै थिएः नमूएलबाट नमूएलीहरूको वंश, यामीनबाट यामिनीहरूको वंश, याकीनबाट याकीनीहरूको वंश, 13जेरहबाट जेरहातीहरूको वंश, शौलबाट शौलीहरूको वंश भए । 14यिनीहरू शिमियोनका सन्तानहरूका कुलहरू थिए, जसको सङ्ख्या २२,२०० थियो । यिनीहरू 15दानका सन्तानहरूका कुलहरू थिएः सेफोनबाट सेफोनीहरूका वंश, हाग्यीबाट हाग्यीहरूको वंश, शूनीबाट शूनीहरूको वंश भए । 16ओजनीबाट ओजनीहरूको वंश, एरीबाट एरीहरूको वंश, 17अरोदबाट अरोदीहरूको वंश, अरेलीबाट अरेलीहरूको वंश भए । 18यिनीहरू दानका सन्तानहरूका कुलहरू थिए, जसको सङ्ख्या ४०,५०० थियो । 19एर् र ओनान यहूदाका छोराहरू थिए, तर यिनीहरू कनानको भूमिमा नै मरे । 20यहूदाका अन्य सन्तानहरूका कुलहरू यिनै थिएः शेलहबाट शेलानीहरूको वंश, फारेसबाट फारेसीहरूको वंश, जेरहबाट जेहातीहरूको वंश भए । 21फारेसका सन्तानहरू यिनै थिएः हेस्रोनबाट हेस्रोनीहरूको वंश, हामूलबाट हामूलीहरूको वंश भए । 22यिनीहरू यहूदाका सन्तानहरूका कुलहरू थिए, जसको सङ्ख्या ७६,५०० थियो । 23यिनीहरू इस्साखारका सन्तानहरूका कुलहरू थिएः तोलाबाट तोलाहीहरूको वंश, पुवाबाट पुवातीहरूको वंश, 24याशूबबाट याशूबीहरूको वंश, शिम्रोनबाट शिम्रनीहरूको वंश भए । 25यिनीहरू इस्साखारका कुलहरू थिए, जसको सङ्ख्या ६४,३०० थियो । 26यिनीहरू जबूलूनका सन्तानहरूका कुलहरू थिएः सेरेदबाट सेरेदीहरूको वंश, एलोनबाट एलोनीहरूको वंश, यहलेलबाट यहेलेलीको वंश भए । 27यिनीहरू जबूलूनका कुलहरू थिए, जसको सङ्ख्या ६०,५०० थियो । 28योसेफका सन्तानहरूका कुलहरू मनश्‍शे र एफ्राइम थिए । 29यिनीहरू मनश्‍शेका सन्तानहरू थिएः माकीरबाट माकीरीहरूको वंश (माकीर गिलादका बुबा थिए), 30गिलादबाट गिलादीहरूका वंश भए । यिनीहरू गिलादका सन्तानहरू थिएः ईएजेरबाट ऐएजेरीहरूका वंश, हेलेकबाट हेलेकीहरूका वंश, 31अस्रीएलबाट अस्रीएलीहरूका वंश, शकेमबाट शकेमीहरूका वंश, 32शमीदाबाट शमीदीहरूका वंश, हेपेरबाट हेपेरहरूका वंश भए । 33हेपेरका छोरा सलोफादका छोराहरू थिएनन्, तर छोरीहरू मात्र थिए । तिनका छोरीहरूका नाउँ महला, नोआह, होग्‍ला, मिल्का र तिर्सा थिए । 34यिनीहरू मनश्‍शेका कुलहरू थिए, जसको सङ्ख्या ५२,७०० थियो । 35यिनीहरू एफ्राइमका सन्तानहरूका कुलहरू थिएः शूतेलहबाट शूतेलहीहरूका वंश, बेकेरबाट बेकेरीहरूका वंश, तहनबाट तहनीहरूका वंश भए । 36शूतेलहका सन्तानहरू, एरानबाट एरानीहरू थिए । 37यिनीहरू एफ्राइमका सन्तानहरूका कुलहरू थिए, जसको सङ्ख्या ३२,५०० थियो । यिनीहरू आ-आफ्ना कुलअनुसार गन्ती गरिएका योसेफका सन्तानहरू थिए । 38यिनीहरू बेन्यामीनका सन्तानहरूका कुलहरू थिएः बेलाबाट बेलाहीहरूका वंश, अश्बेलबाट अश्बेलीहरूका वंश, अहीरामबाट अहीरामीहरूका वंश, 39शूपामबाट शूपामीहरूको वंश, हूपामबाट हूपामीहरूका वंश भए । आर्द र नामान 40बेलाका छोराहरू थिए । आर्दबाट आर्दीहरूका वंश, नामानबाट नामानीहरूका वंश भए । 41यिनीहरू बेन्यामीनका सन्तानहरूका कुलहरू थिए । तिनीहरूको सङ्ख्या ४५,६०० थियो । 42शूहामबाट आएका शूहामीहरूका वंश नै दानका सन्तानहरूका कुलहरू थिए । यिनीहरू दानका सन्तानका कुलहरू थिए । 43शूहामीहरूका सबै कुलको सङ्ख्या ६४,४०० थियो । 44आशेरका सन्तानहरूका कुलहरू यिनै थिएः यिम्‍नाबाट यिम्‍नीहरूका वंश, यिश्‍वीबाट यिश्‍वीहरूका वंश, बरीआबाट बरीआतीहरूका वंश भए । 45बरीआका सन्तानहरू यिनै थिएः हेबेरबाट हेबेरीहरूका वंश, मल्कीएलबाट मल्कीएलीहरूका वंश भए । 46आशेरकी छोरीको नाउँ सेरह थियो । 47यिनीहरू आशेरका सन्तानहरूका कुलहरू थिए, जसको सङ्ख्या ५३,४०० थियो । 48यिनीहरू नप्‍तालीका सन्तानहरूका वंशहरू थिएः यहसीलबाट यहसीलीहरूका वंश, गुनीबाट गुनीहरूका वंश, 49येसेरबाट येसेरीहरूका वंश, शिल्लेमबाट शिल्लेमीहरूको वंश भए । 50यिनीहरू नप्‍तालीका सन्तानहरूका वंशहरू थिए, जसको सङ्ख्या ४५,४०० थियो । 51इस्राएलका मानिसहरूका गनिएका पुरुषहरूका पुरा सङ्ख्या ६,०१,७३० थियो । 52परमप्रभु मोशासँग बोल्नुभयो, 53“यो भूमि तिनीहरूका आ-आफ्ना नाउँको सङ्ख्याअनुसार यी मानिसहरू माझ उत्तराधिकारको रूपमा बाँड्नुपर्छ । 54ठुलो कुललाई ठुलो अंश दिनुपर्छ र सानो कुललाई सानो अंश दिनुपर्छ । हरेक कुललाई गनिएका पुरुषहरूको सङ्ख्याअनुसार एक‍-एक अंश दिनुपर्छ । 55तथापि, भूमिलाई चिट्ठा हालेर बाँड्नुपर्छ । 56आ-आफ्ना कुललाई बाँडिदिएअनुसार तिनीहरूले भूमि पाउनुपर्छ । तिनीहरूलाई चिट्ठाद्वारा बाँडिदिएअनुसार ठुला र साना कुलहरूलाई आ-आफ्ना अंश भाग लगाउनुपर्छ ।” 57वंश-वंशअनुसार गन्ती गरिएका लेवीका वंश यिनै थिएः गेर्शोनबाट गेर्शोनीहरूका वंश, कहातबाट कहातीहरूका वंश, मरारीबाट मरारीहरूका वंश भए । 58यिनीहरू लेवीका वंशहरू थिएः लिब्‍नीहरूका वंश, हेब्रोनीहरूका वंश, महलीहरूका वंश, मूशीहरूका वंश, कोरहीहरूका वंश । कहात अम्रामका पूर्खा थिए । 59लेवी कुलका सन्तान अम्रामकी पत्‍नीको नाउँ योकेबेद थियो, जो मिश्रमा लेवी कुलमा जन्मेकी थिइन् । तिनीबाट अम्रामका छोराछोरीहरू हारून, मोशा र तिनीहरूका दिदी मिरियम जन्मे । 60हारूनबाट नादाब र अबीहू, एलाजार र ईतामार जन्मे । 61नदाब र अबीहूले परमप्रभुको सामु अस्वीकार्य आगो चढाउँदा तिनीहरू मरे । 62तिनीहरू माझ एक महिना र त्यसभन्दा माथिका गन्ती गरिएका पुरुषहरूको सङ्ख्या तेइस हजार थियो । तर तिनीहरूलाई इस्राएलका सन्तानहरूमाझ गन्ती गरिएन, किनभने तिनीहरूलाई इस्राएलका मानिसहरूमाझ कुनै अंश दिइएको थिएन । 63मोशा र पुजारी एलाजारले गन्ती गरेकाहरू यिनीहरू नै थिए । तिनीहरूले इस्राएलका मानिसहरूलाई यरीहोपारि यर्दन नजिकै मोआबको मैदानमा गन्ती गरे । 64तर यिनीहरूमा मोशा र पुजारी हारूनले सीनैको मरुभूमिमा गन्ती गरेका इस्राएलका सन्तानहरू कुनै पनि थिएनन् । 65किनभने ती मानिसहरू सबै मरूभूमीमा नै मर्नेथिए भनी परमप्रभुले भन्‍नुभएको थियो । तिनीहरूमा यपुन्‍नेका छोरा कालेब र नूनका छोरा यहोशूबाहेक कोही पनि बाँकी रहेनन् ।