1दोषबलिको विधि यस्तो रहेको छ । यो अति पवित्र हो । 2दोषबलिलाई मार्ने स्थानमा नै तिनीहरूले त्यो मारून्, र वेदी वरिपरिको सबै ठाउँमा त्यसको रगत छर्कून् । 3त्यसभित्र भएका सबै बोसो अर्पण गरिने छः अर्थात् बोसे पुच्छर, भित्री अङ्गहरू ढाक्ने बोसो, 4दुवै मृगौला र तिनलाई ढाक्ने बोसो, कम्मरनेरको बोसो, र मृगौलासँगै कलेजोलाई ढाक्ने बोसो सबै झिक्नू । 5पुजारीले आगोद्वारा चढाइने बलिको रूपमा यी सबै भागहरूलाई वेदीमा जलाओस् । यो दोषबलि हो । 6पुजारीहरूमध्ये सबै पुरुषले यस बलिबाट केही भाग खान सक्छन् । यो कुनै पवित्र ठाउँमा खानू किनभने यो अति पवित्र हो । 7पापबलि पनि दोषबलिजस्तै हो । यी दुवैका एउटै विधि छन् । तिनीहरूका निम्ति प्रायश्चित्त गर्ने पुजारीकै ती हुने छन् । 8अरूको होमबलिलाई अर्पण गर्ने पुजारीले त्यस होमबलिको छाला आफ्नो निम्ति राख्न सक्छ । 9चुलोमा बनाइएका सबै अन्नबलि र ताइताप्के वा ताउमा पकाइएका सबै बलि अर्पण गर्ने पुजारीकै हुने छ । 10सुक्खा वा तेलसँग मिसाइएका सबै अन्नबलि समान रूपमा हारूनका वंशको हुने छ । 11परमप्रभुलाई मानिसहरूले अर्पण गर्ने मेलबलिको भेटीको विधि यस्तो रहेको छ । 12यदि कसैले त्यो धन्यवाद दिनको निम्ति अर्पण गर्दछ भने, त्यसले त्यो खमिर नराखी तेलमा मिसाएर बनाइएको रोटी, खमिर नराखी माथिबाट तेल लगाइएको रोटी, र मसिनो पिठोलाई तेलमा मिसाएर बनाइएको रोटीको भेटीद्वारा अर्पण गरोस् । 13साथै, धन्यवाद दिनको निम्ति, आफ्नो मेलबलिसित त्यसले खमिर राखेर बनाइएको रोटी पनि अर्पण गरोस् । 14परमप्रभुको निम्ति अर्पण गरिएको भेटीस्वरूप यी बलिहरूका हरेक प्रकारबाट एउटा-एउटा त्यसले अर्पण गरोस् । यो भेटी मेलबलिको रगतलाई वेदीमा छर्कने पुजारीकै हुने छ । 15धन्यवाद दिनको निम्ति मेलबलि अर्पण गर्ने मानिसले आफ्नो बलिदानको मासु बलिकै दिनमा खानू । त्यसबाट कत्ति पनि अर्को बिहानीको निम्ति त्यसले नछोडोस् । 16तर यदि त्यसको भेटी प्रतिज्ञाको निम्ति बलिदान भएमा, त्यसले बलिदानलाई अर्पण गर्ने दिनमा नै त्यो खाइयोस्, तर त्यसबाट बाँकी रहेको जति अर्को दिन खान सकिने छ । 17तर तेस्रो दिनसम्म बलिदानको जे जति मासु बाँकी रहन्छ, त्योचाहिँ जलाइयोस् । 18यदि कसैको मेलबलिको मासु तेस्रो दिनमा खाइयो भने, त्यो स्वीकारिने छैन, न त त्यो अर्पण गर्नेको निम्ति अर्पण गरिएको गनिने छ । यो अति घृणित कुरो हो, र यो खाने मानिसले आफ्नो पापको दोष बोकिरहने छ । 19कुनै पनि अशुद्ध कुरा छोएको मासु नखानू । त्यो जलाइयोस् । अरू मासुचाहिँ जुन शुद्ध छ, त्यसले खाओस् । 20तर यदि परमप्रभुको मेलबलिको भेटीबाट कुनै अशुद्ध मानिसले खान्छ भने, त्यो व्यक्ति आफ्ना मानिसहरूबाट बहिष्कार गरियोस् । 21यदि कसैले कुनै अशुद्ध कुरा जस्तै कुनै मानिस वा अशुद्ध पशु, वा कुनै अशुद्ध र तुच्छ वस्तुको अशुद्धतालाई छोएर परमप्रभुको मेलबलिको भेटीको मासु खायो भने, त्यो व्यक्ति आफ्ना मानिसहरूबाट बहिष्कार गरियोस् ।’ ” 22अनि परमप्रभु यसो भनेर मोशासँग बोल्नुभयो, 23“इस्राएलका मानिसहरूलाई यस्तो भन्, ‘तिमीहरूले कुनै गोरु, वा भेडा वा बोकोको बोसो नखानू । 24बलिको रूपमा अर्पण नगरी मरेको पशुको बोसो, वा वन-पशुहरूले मारेको पशुको बोसो अरू कामको निम्ति प्रयोग गर्न मिल्छ, तर निश्चय नै त्यो नखानू । 25परमप्रभुको निम्ति आगोद्वारा चढाइने बलिको निम्ति मानिसहरूद्वारा अर्पण गर्न बाँकी पशुको बोसो जसले खान्छ, त्यो व्यक्ति आफ्ना मानिसहरूबाट बहिष्कार गरियोस् । 26तिमीहरूका घरहरूमा कुनै पक्षी वा पशुको रगत नखानू । 27जसले रगत खान्छ, त्यो आफ्ना मानिसहरूबाट बहिष्कार गरियोस् ’ ।” 28परमप्रभु मोशासँग यसरी बोल्नुभयो, 29“इस्राएलका मानिसहरूलाई यस्तो भन्, ‘परमप्रभुलाई मेलबलिको भेटी अर्पण गर्ने मानिसले आफ्नो बलिदानको भाग परमप्रभुकहाँ ल्याओस् । 30आगोद्वारा परमप्रभुलाई अर्पण गरिने बलिदानचाहिँ त्यस मानिसको आफ्नै हातबाट ल्याइयोस् । त्यसले बलिको छातीसित त्यसको बोसो पनि ल्याओस्, र छातीचाहिँ परमप्रभुको अगि डोलाइने बलिको रूपमा डोलाइयोस् । 31पुजारीले बोसोलाई वेदीमा जलाओस्, तर छातीचाहिँ हारून र त्यसका वंशको हुने छ । 32तैँले पुजारीलाई तेरा मेलबलिहरूबाट बलिदानको रूपमा दाहिने फिला भेटी दिनू । 33हारूनका सन्तानहरूमध्ये मेलबलिहरूको रगत र बोसोलाई अर्पण गर्ने पुजारीले बलिदानबाट दाहिने फिला हिस्साको रूपमा लिओस् । 34किनभने मैले इस्राएलका मानिसहरूबाट डोलाइने बलिको छाती र योगदानको रूपमा फिला लिएको छु, र ती पुजारी हारून र त्यसका छोराहरूलाई सदाको निम्ति हिस्सास्वरूप दिइएको छ । 35पुजारीको कार्यमा परमप्रभुको निम्ति सेवा पुर्याउनलाई हारून र त्यसका सन्तानलाई मोशाले अर्पण गरेको दिनमा परमप्रभुको निम्ति आगोद्वारा चढाइएको बलिदानबाट तिनीहरूका निम्ति हिस्सा यही नै हो । 36परमप्रभुले पुजारीहरूलाई अभिषेक गर्नुभएको दिनमा इस्राएलका मानिसहरूबाट तिनीहरूलाई दिनको निम्ति उहाँले आज्ञा गर्नुभएको हिस्सा यही नै हो । सबै पुस्ताहरूमा यो तिनीहरूकै हिस्सा हुने छ । 37होमबलि, अन्नबलि, पापबलि, दोषबलि, अभिषेकको बलि र मेलबलिका विधि यी नै हुन्, 38जुन परमप्रभुले सीनैको मरुभूमिमा इस्राएलका मानिसहरूलाई आफ्ना बलिदानहरू परमप्रभुलाई अर्पण गर्नू भनी आज्ञा दिनुभएको दिनमा सीनै पर्वतमा मोशालाई आज्ञा गर्नुभयो’ ।”