1परमप्रभुले मोशालाई भन्‍नुभयो, 2“मिद्यानीहरूले इस्राएलीहरूलाई जे गरेका थिए, त्यसको निम्ति बद्ला ले । त्यो काम गरेपछि तँ मर्ने छस् र तेरा मानिसहरूसँग मिल्न जाने छस् ।” 3त्यसैले मोशाले मानिसहरूलाई भने, “तिमीहरूका केही मानिसहरूलाई सुसज्‍जित पार । 4तिनीहरू मिद्यानीहरूको विरुद्ध युद्ध लड्न जाऊन् र यसमाथि परमप्रभुको बद्ला लिऊन् । इस्राएलका हरेक कुलले युद्धको निम्ति एक हजार सिपाही पठाउनुपर्छ ।” 5त्यसैले इस्राएलका हजारौँ पुरुषमा हरेक कुलबाट एक हजार जना अर्थात् युद्धको निम्ति बाह्र हजार सशस्‍त्र मानिस दिइयो । 6त्यसपछि मोशाले तिनीहरूलाई पुजारी एलाजारका छोरा पीनहासको साथमा पवित्र स्थानका केही सरसामानहरू र सङ्केत दिनलाई तिनको स्वामित्वमा तुरहीहरूसहित हरेक कुलबाट एक-एक हजार जना मानिसलाई युद्ध गर्न पठाए । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ 7तिनीहरूले मिद्यनीहरूसँग लडे । 8तिनीहरूले सबै मानिसलाई मारे । तिनीहरूले बाँकी मृतकहरूसहित मिद्यानका पाँच जना राजा एवी, रेकेम, सूर, हूर र रेबालाई मारे । 9इस्राएलका फौजले मिद्यानका महिलाहरू, तिनीहरूका बालबच्‍चाहरू, तिनीहरूका सबै गाईवस्तु, तिनीहरूका सबै भेडाबाख्रा र तिनीहरूका सबै मालसामान लगे । तिनीहरूले यिनीहरूलाई लुटको रूपमा लिए । 10तिनीहरूले उनीहरूका सबै सहर जलाइदिए, जहाँ उनीहरू बसेका थिए र उनीहरूका छाउनीहरू थिए । 11तिनीहरूले मानिसहरू र पशुहरू दुवैलाई लुटको माल र कैदीको रूपमा लिए । 12तिनीहरूले कैदीहरूलाई, लुटका मालहरू र कब्जा गरेका सामानहरू मोशा, पुजारी एलाजार र इस्राएलका मानिसहरूका समुदायकहाँ ल्याए । तिनीहरूले यिनीहरूलाई मोआबको मैदानमा यरीहो नजिक यर्दनको किनारमा ल्याए । 13मोशा, पुजारी एलाजार र समुदायका सबै अगुवा तिनीहरूलाई भेट्न छाउनी बाहिर गए । 14तर मोशा लडाइँबाट आएका फौजका अधिकृतहरू, हजार जनाको सेनापति र सय जनाको कप्‍तानहरूसँग रिसाए । 15मोशाले तिनीहरूलाई भने, “के तिमीहरूले यी सबै महिलालाई जीवितै राखेको ? 16हेर, यिनै महिलाहरूले परमप्रभुका समुदायमाझ विपत्ति फैलिँदा बालामको सल्लाहमा पोरको विषयमा परमप्रभु विरुद्ध पाप गर्न लगाएका थिए । 17अब सबै स-साना पुरुषहरूलाई मार् र पुरुषसँग सहवास गरेका सबै महिलालाई पनि मार । 18तर पुरुषसँग सहवास नगरेका सबै जवान महिलालाई आफ्नो निम्ति लेओ । 19तिमीहरू सात दिनसम्म इस्राएलको छाउनीबाहिर छाउनीमा बस्‍नुपर्छ । कसैलाई मारेका र मुर्दालाई छोएका तिमीहरू सबैले तिमीहरू र तिमीहरूका कैदीहरूसहित तेस्रो र सातौँ दिनमा आफैलाई शुद्ध पार्नुपर्छ । 20तिमीहरूले हरेक पोशाक र पशुका छाला, बाख्राको रौँ र काठले बनेका सबै मालसामानलाई शुद्ध पार्नुपर्छ ।” 21पुजारी एलाजारले युद्धमा गएका सिपाहीहरूलाई भने, “परमप्रभुले मोशालाई दिनुभएको धर्म-विधि यही होः 22सुन, चाँदी, काँसा, फलाम, टिन र सिसा, 23र आगोले नजल्ने सबै थोकलाई तिमीहरूले आगोमा पोल्नुपर्छ र यो शुद्ध हुने छ । त्यसपछि तिमीहरूले यिनीहरूलाई शुद्ध पार्ने पानीले शुद्ध पार्नुपर्छ । जुन कुरालाई आगोमा जलाउन मिल्दैन, त्यसलाई तिमीहरूले पानीले शुद्ध पार्नुपर्छ । 24तिमीहरूले सातौँ दिनमा तिमीहरूका लुगा धुनुपर्छ र तिमीहरू शुद्ध हुने छौ । त्यसपछि तिमीहरू इस्राएलको छाउनीभित्र आउन सक्छौ । 25त्यसपछि परमप्रभुले मोशालाई भन्‍नुभयो, 26“मानिस र पशुहरू दुवै लुटका मालहरूको रूपमा गन्ती गर् । तँ, पुजारी एलाजार र समुदायका कुल-कुलका अगुवाहरूले लुटका मालहरूलाई 27दुई भाग गर्नुपर्छ । यसलाई लडाइँमा जाने सिपाहीहरू र सबै बाँकी समुदायबिच बाँड् । 28त्यसपछि लडाइँमा गएका सिपाहीहरूबाट मेरो निम्ति कर लिनू । यो कर मानिस, गाईवस्तु, गधा, भेडा वा बाख्राहरू जे भए पनि हरेक पाँच सयमा एउटा हुनुपर्छ । 29यो कर तिनीहरूका आधा अंशबाट लिनू र यसलाई मेरो निम्ति चढाउन पुजारी एलाजारलाई दिनू । 30साथै, इस्राएलका मानिसहरूका आधा भागबाट, मानिस, गाईवस्तु, गधा, भेडा र बाख्राबाट तैँले हरेक पचास वटामा एउटा लिनू । यिनीहरूलाई मेरो पवित्र वासस्थानको हेरचाह गर्ने लेवीहरूलाई दिनू ।” 31त्यसैले मोशा र पुजारी एलाजारले परमप्रभुले मोशालाई आज्ञा गर्नुभएबमोजिम गरे । 32सिपाहीहरूले लिएका लुटबाट बाँकी रहेका ६,७५,००० भेडा, 33सत्तरी हजार गोरु, 34एकसट्ठी हजार गधा, 35र पुरुषसँग कहिल्यै सहवास नगरेका तिस हजार महिला थिए । 36सिपाहीहरूका निम्ति राखिएका भेडाहरू ३,३७, ००० थियो । भेडाहरूबाट 37परमप्रभुको भाग ६७५ थियो । 38गोरुहरू छत्तिस हजार थिए, जसबाट परमप्रभुको भागमा बहत्तरवटा थिए । 39गधाहरू ३०,५०० थिए, जसबाट परमप्रभुको भाग एकसट्ठीवटा थिए । 40सोह्र हजार महिला थिए, जसबाट परमप्रभुको भाग बत्तिस जना थिए । 41परमप्रभुलाई चढाउने बलि हुनुपर्ने कर मोशाले लिए । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ तिनले यसलाई पुजारी एलाजारलाई दिए । 42युद्धमा गएका सिपाहीहरूबाट मोशाले इस्राएलका मानिसहरूका आधा भागको सन्दर्भमा 43समुदायको आधा भाग ३,३७,५०० भेडा, 44तिस हजार गोरु, 45३०,५०० गधा, 46र सोह्र हजार महिला थिए । 47इस्राएलका मानिसहरूका आधा भागबाट मोशाले पशु र मानिस दुवैबाट हरेक पचास वटाबाट एउटा लिए । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएबमोजिम तिनले तिनीहरूलाई परमप्रभुको पवित्र वासस्थानको हेरचाह गर्ने लेवीहरूलाई दिए । 48फौजका अधिकृतहरू, हजारका सेनापतिहरू र पचास जनाका कप्‍तानहरू मोशाकहाँ आए । 49तिनीहरूले तिनलाई भने, “तपाईंका दासहरूले हाम्रो स्वामित्वमा भएका सिपाहीहरूको गन्ती गरेका छन् र एक जना पनि हराएको छैन । 50हामी हरेकले पाएका सुनका गहनाहरू, बाजू, बाला, छाप औँठी, कुण्डल र सिक्रीहरू परमप्रभुको सामु हाम्रो प्रायश्‍चित्त गर्नको निम्ति परमप्रभुको भेटी ल्याएका छौँ ।” 51मोशा र पुजारी एलाजारले सुन र सबै कलात्मक सरसामान तिनीहरूबाट ग्रहण गरे । 52तिनीहरूले परमप्रभुलाई दिएका, हजारका सेनापतिहरू र सय जनाका कप्‍तानहरूबाट आएका सुनका भेटीहरूको तौल एक सय नब्बे किलोग्राम थियो । 53हरेक सिपाहीले आ-आफ्नो निम्ति लुटका माल लिएका थिए । 54मोशा र पुजारी एलाजारले हजारका सेनापतिहरू र सयका कप्‍तानहरूबाट सुन लिए । तिनीहरूले यसलाई परमप्रभुको निम्ति इस्राएलका मानिसहरूको याद दिलाउने चिनोको रूपमा भेट हुने पालभित्र लगे ।