1परमप्रभुले मोशालाई भन्नुभयो, 2“इस्राएलका मानिसहरूलाई भन् र तिनीहरूबाट हरेक कुलको निम्ति एउटा-एउटा गरी बाह्रवटा लहुरो ले । हरेक मानिसको लहुरोमा आ-आफ्नो नाउँ लेख् । 3लेवीको लहुरोमा तैँले हारूनको नाउँ लेख्नुपर्छ । आ-आफ्नो कुलबाट हरेक अगुवाको निम्ति एउटा लहुरो हुनुपर्छ । 4तैँले ती लहुरोहरूलाई करारको गवाही-पाटीको सामु भेट हुने पालमा राख्नुपर्छ, जहाँ मैले तँलाई भेट्छु । 5मैले चुनेको मानिसको लहुरो टुसाउनेछ । म इस्राएलका मानिसको गनगन बन्द गराउनेछु, जुन तेरो विरुद्ध भइरहेको छ ।” 6यसैले मोशाले मानिसहरूलाई भने । सबै कुलनायकले हरेक अगुवाको निम्ति एउटा लहुरो दिए । कुलहरूबाट छानेर बाह्रवटा लहुरो तिनलाई दिइयो । तिनीहरूका माझमा हारूनको लहुरो पनि थियो । 7त्यसपछि मोशाले लहुरोहरूलाई गवाही-पाटीको पालमा परमप्रभुको सामु राखे । 8अर्को दिन मोशा गवाही-पाटी भएको पालमा गए, हेर! लेवी कुलका हारूनको लहुरोमा कोपिला लागेको रहेछ । यसमा कोपिला लगेको थियो, फूल फुलेको थियो र हाडे-बदाम पाकेको थियो ! 9मोशाले ती सबै लहुरालाई इस्राएलका मानिसको सामु ल्याए र सबैले आ-आफ्नो लहुरो लिए । 10परमप्रभुले मोशालाई भन्नुभयो, “हारूनको लहुरो गवाही-पाटीको सामु राख् । यसलाई विद्रोह गर्ने मानिसहरूको विरुद्ध दोषको चिन्हको रूपमा राख् । यसरी तैँले मेरो विरुद्ध तिनीहरूको गनगन अन्त गर्नेछस् नत्रता तिनीहरू मर्नेछन् ।” 11मोशाले परमप्रभुले आज्ञा गर्नुभएबमोजिम गरे । 12इस्राएलका मानिसहरूले मोशालाई भने, “यहाँ हामी मर्नेभयौँ ! हामी सबै नष्ट हुनेभयौ ! 13परमप्रभुको पवित्र वासस्थान नजिक आउने हरेक मर्ने छ । के हामी पनि मर्नुपर्छ ?”