1खराब मानिसहरूको लालच नगर्, न त तिनीहरूसित सङ्गत गर्ने चाहना राख् । 2किनभने तिनीहरूको हृदयले हिंसाको षड्यन्त्र रच्छ, र तिनीहरूको ओठले कष्‍टबारे कुराकानी गर्छ । 3बुद्धिद्वारा घर निर्माण गरिन्छ, र समझशक्तिद्वारा यसलाई स्थापित गरिन्छ । 4ज्ञानद्वारा सारा बहुमूल्य र उत्कृष्‍ट थोकहरूले कोठाहरू भरिन्छन् । 5बुद्धिमान् योद्धा बलियो हुन्छ, र ज्ञानी मानिसले आफ्नो शक्ति बढाउँछ । 6किनभने बुद्धिमानी निर्देशनद्वारा तैँले आफ्नो युद्ध लड्न सक्छस्, र धेरै परामर्शदाताहरूद्वारा विजय हासिल गरिन्छ । 7मूर्खको लागि बुद्धि अति उच्‍च हुन्छ । ढोकामा त्यसले आफ्नो मुख खोल्दैन । 8खराबी गर्न योजनाहरू बनाउने एउटा छ जसलाई मानिसहरू “षड्यन्त्रकारीको गुरु” भन्छन् । 9मूर्ख योजना पाप हो, र मानिसहरूले खिल्ली उडाउनेलाई तुच्छ ठान्छन् । 10कष्‍टको दिनमा तँ डरले कमजोर भइस् भने तेरो शक्ति क्षीण हुने छ । 11मृत्युको लागि लगिँदै गरेकाहरूलाई छुटकारा दे, र मारिनका लागि ढुनमुनिएकाहरूलाई बचा । 12“हामीलाई यस विषयमा केही थाहा थिएन,” भनी तैँले भनिस् भने के हृदयको जाँच गर्नुहुनेले तैँले भनिरहेको कुरालाई बुझ्नुहुन्‍न र ? तेरो जीवनको रखवाली गर्नुहुनेलाई के यो कुरा थाहा छैन र ? के परमेश्‍वरले हरेकलाई त्यसको प्रतिफलअनुसार दिनुहुन्‍न र ? 13हे मेरो छोरो, मह खा, किनकि यो गुलियो हुन्छ, किनकि महको चाकाबाटको महको स्वाद तँलाई गुलियो हुन्छ । 14तेरो प्राणको लागि बुद्धि यही होः तैँले यसलाई भेट्टाइस् भने तेरो भविष्य सुन्दर हुने छ, र तेरो आशा निराश हुने छैन । 15धर्मात्माको घरमाथि आक्रमण गर्ने दुष्‍ट मानिसजस्तै ढुकेर नबस् । त्यसको घर नभत्का । 16किनकि धर्मात्मा सात पटक लोट्छ र फेरि उठ्छ, तर दुष्‍ट मानिसहरू विपत्तिद्वारा तल खसालिन्छन् । 17तेरो शत्रुको पतन हुँदा उत्सव नमना, र त्यसले ठक्‍कर खाँदा तेरो हृदयलाई प्रसन्‍न हुन नदे । 18नत्रता परमप्रभुले देख्‍नुहुने छ र असहमति जनाउनुहुने छ अनि त्यसबाट आफ्नो क्रोध हटाउनुहुने छ । 19खराबी गर्नेहरूको कारण चिन्ता नमान्, र दुष्‍ट मानिसहरूको ईर्ष्या नगर् । 20किनभने दुष्‍ट मानिसको कुनै भविष्य छैन, र दुष्‍ट मानिसको बत्ती निभाइने छ । 21हे मेरो छोरो, परमप्रभुको भय मान्, र राजादेखि डरा । तिनीहरूको विरुद्धमा लाग्‍नेहरूको सङ्गत नगर् । 22किनभने उहाँहरूको विपत्ति अकस्मात आइपर्ने छ, र उहाँहरू दुवैबाट आउने विनाशको मात्रा कसलाई थाहा छ र ? 23यी पनि बुद्धिमान्‌का नीति-वचनहरू हुन् । मुद्दाको न्यायमा पक्षपात गर्नु राम्रो होइन । 24दुष्‍ट मानिसलाई “तिमी धर्मात्मा हौ,” भनी भन्‍ने कुनै पनि व्यक्ति मानिसहरूद्वारा श्रापित हुने छ, र जाति-जातिहरूद्वारा घृणित हुने छ । 25तर दुष्‍टलाई अनुशासनमा राख्‍नेहरू आनन्दित हुने छन्, र तिनीहरूमा भलाइका उपहारहरू आउने छन् । 26इमानदार जवाफ दिनेले ओठमा चुम्बन दिन्छ । 27तेरो बाहिरको काम तयार गर्, र खेतबारीमा गरिने हरेक काम तँ आफैले तयार राख् । त्यसपछि तेरो घर बना । 28विनाकारण तेरो छिमेकीको विरुद्धमा साक्षी नबन्, र तेरो ओठले छल्ने काम नगर् । 29यसो नभन्, “त्यसले मलाई गरेजस्तै म त्यसलाई गर्ने छु । त्यसले मलाई गरेको साटो म लिने छु ।” 30म अल्छे मानिसको खेतनेरबाट गएँ, बेसमझ मानिसको दाखबारीबाट भएर गएँ । 31जताततै काँढाहरू उम्रेका थिए; जमिन झारैझारले ढाकिएको थियो, र यसको ढुङ्गाको पर्खाल तोडिएको थियो । 32तब मैले देखेका कुरामा मैले विचार गरेँ । मैले हेरेँ र अर्ती प्राप्‍त गरेँ । 33क्षणिक सुताइ, क्षणिक उँघाइ र आरामको लागि क्षणिक हात बाँध्‍ने कामले 34गरिबी चोरझैँ आउने छ, र आवश्यकताचाहिँ हतियार भिरेको सिपाहीझैँ आउने छ ।