1ग्रिष्म ऋतुमा हिउँ वा फसलको समयमा झरी परेझैँ मूर्ख आदरको योग्य हुँदन । 2भुर्र उड्ने भँगेरो र हानिएर जाने गौँथलीझैँ कारणविनाको श्राप पनि लाग्दैन । 3कोर्रा घोडाको लागि हो; लगाम गधाको लागि हो र लट्ठी मूर्खहरूको पिठिउँको लागि हो । 4मूर्खलाई त्यसको मूर्खताअनुसार जवाफ नदे, नत्रता तँ त्योजस्तै हुने छस् । 5मूर्खलाई जवाफ दे र त्यसको मूर्खतामा मिल् ताकि त्यो त्यसको आफ्नै दृष्टिमा बुद्धिमान् नहोस् । 6मूर्खको हातमा सन्देश पठाउने मानिसले आफ्नै खुट्टामा बन्चरो हानेर हिंसा पिउँछ । 7पक्षाघातीका झुण्डिएका खुट्टाहरूझैँ मूर्खको मुखमा भएको हितोपदेश हुन्छ । 8मूर्खलाई आदन दिनु घुयेँत्रोमा ढुङ्गा बाँध्नुजस्तै हो । 9मतवालाको हातमा काँढा भएझैँ मूर्खको मुखमा भएको हितोपदेश हो । 10मूर्ख वा बटुवालाई ज्यालामा काम लगाउनु धनुर्धारीले त्यसको वरिपरि भएका सबैलाई काँड हानी चोट पुर्याउनुजस्तै हो । 11जसरी कुकुर आफ्नै बान्तामा फर्केर आउँछ, त्यसै गरी मूर्खले आफ्नो मूर्खता दोहोर्याउँछ । 12के तैँले आफ्नै दृष्टिमा बुद्धिमान् भएको कुनै मानिसलाई देखेको छस् ? त्यसको भन्दा त मूर्खको लागि बढी आशा हुन्छ । 13अल्छे मानिसले भन्छ, “सडकमा सिंह छ । खुला ठाउँहरूका बिचमा सिंह छ ।” 14ढोका आफ्नो कब्जामा यताउता हल्लेझैँ अल्छे मानिस आफ्नो खाटमा पल्टन्छ । 15अल्छे मानिसले आफ्नो हात थालमा गाड्छ, र त्यसलाई आफ्नो मुखसम्म पुर्याउन पनि त्योसित शक्ति हुँदैन । 16सही न्यायसहित प्रतिक्रिया दिने सात जना मानिसभन्दा अल्छे मानिस त्यसको आफ्नै दृष्टिमा बुद्धिमान् हुन्छ । 17कुकुरको कान समात्ने मानिस आफूसित सम्बन्धित नभएको झगडामा रिसाउने बटुवाजस्तै हो । 18त्यो घातक काँड हान्ने बौलाहा मानिसजस्तो हो, 19जसले आफ्नो छिमेकीलाई धोका दिइसकेपछि भन्छ, “के मैले ठट्टा गर्दै थिइनँ र ?” 20दाउराको कमीले आगो निभ्छ, र जहाँ कुरौटो हुँदैन त्यहाँ झगडाको अन्त्य हुन्छ । 21जसरी भुङ्ग्रोको लागि कोइला र आगोको लागि दाउरा हो, त्यसै गरी झगडालु मानिस कलह सल्काउनको लागि हो । 22कुरौटेका वचनहरू स्वादिष्ट गाँसजस्तै हुन्छन् । ती शरीरको भित्री भागसम्म प्रवेश गर्छन् । 23माटोको भाँडामा चल्काउने जलप लाएझैँ आघात पुर्याउने ओठ र दुष्ट हृदय हुन्छ । 24अरूहरूलाई घृणा गर्नेले आफ्नो ओठले आफ्ना भावना लुकाउँछ, तर भित्रपट्टि भने त्यसले छलछामलाई आश्रय दिन्छ । 25त्यसले अनुग्रही भएर बोले तपानि त्यसमाथि विश्वास नगर्, किनकि त्यसको हृदयमा सातवटा घृणित कुरा छन् । 26त्यसको घृणालाई छलले ढाकिएको भए तापनि त्यसको दुष्टता सभामा खुला हुने छ । 27खाडल खन्ने मानिस त्यसभित्र जाकिन्छ, र ढुङ्गा गुडाउने मानिसमा नै त्यो ढुङ्गा फर्केर आउने छ । 28झुट बोल्ने जिब्रोले पीडामा परेकाहरूलाई घृणा गर्छ, र चापलुसी घस्ने मुखले विनाश ल्याउँछ ।