1हे मेरो छोरो, मेरा वचनहरू पालन गर्, र मेरा आज्ञाहरू तँभित्र सञ्चय गरेर राख् । 2मेरा आज्ञाहरू पालन गरेर बाँच्, र मेरो निर्देशनलाई तेरो आँखाको नानीजस्तै जोगाइराख् । 3तिनलाई तेरा औँलाहरूमा बेह्रेर राख् । तिनलाई तेरो हृदयको पाटीमा लेखेर राख् । 4बुद्धिलाई भन्, “तिमी मेरी बहिनी हौँ,” र समझशक्तिलाई आफ्नो आफन्त भन् । 5तब तिनले तँलाई व्यभिचारी स्त्री र अनैतिक स्त्रीको मोहित तुल्याउने कुराहरूबाट बचाउने छन् । 6मेरो घरको झ्यालमा बसेर मैले आँखी-झ्यालबाट हेर्दै थिएँ । 7मैले सोझा मानिसहरूलाई हेरेँ, र युवाहरूका बिचमा एक जना निर्बुद्धिलाई ख्याल गरेँ । 8त्यो जवान मानिस त्यस स्त्री बस्ने गल्ली नजिकबाट गयो, र त्यो स्त्रीको घरतर्फ लाग्यो । 9साँझको बेलामा दिन ढल्कँदै थियो, जुन बेला अन्धकार छाएको थियो । 10एउटी स्त्रीले त्यसलाई भेटी, जसले वेश्याले जस्तै पहिरन लगाएकी थिई र त्यसको हृदय धूर्त थियो । 11त्यो चञ्चली र जिद्दीवाल थिई । त्यो आफ्नो घरमा बस्दिनथी । 12त्यो कहिले सडकमा त कहिले बजारमा बस्थी, अनि हरेक कुनाकाप्चामा त्यो लुकेर बस्थी । 13त्यसले उसलाई पक्रेर चुम्बन गरी, र निर्लज्ज चेहरा लिएर भनी, 14“आज मैले आफ्नो मेलबलि चढाएँ; मेरा भाकलहरू पुरा गरेँ । 15त्यसैले म तपाईंलाई भेट्न, उत्सुकतासाथ तपाईंको मुहार हेर्न आएकी हुँ, र अहिले मैले तपाईंलाई भेट्टाएकी छु । 16मैले मेरो ओछ्यानमा मिश्र देशको रङ्गिन तन्ना ओछ्याएकी छु । 17मैले मेरो ओछ्यानमा मूर्र, एलवा र दालचिनी छर्केकी छु । 18आउनुहोस्, बिहानसम्मै हामी प्रेमको सागरमा डुबौँ । हामी प्रेमको कार्यमा रमाऔँ । 19किनकि मेरा पति घरमा हुनुहुन्न । उहाँ लामो यात्रामा जानुभएको छ । 20उहाँले आफूसित पैसाको थैली लिएर जानुभएको छ । उहाँ पूर्णिमामा मात्र घर फर्कनुहुने छ ।” 21धेरै कुराकानी गरेर त्यो उसकहाँ फर्की । त्यसले आफ्ना मोहित तुल्याउने कुराहरूलाई उसलाई फकाई । 22मारिनलाई लगिएको गोरुझैँ र पासोमा परेको मृगझैँ त्यो अकस्मात् स्त्रीको पछि लाग्यो । 23वाणले त्यसको कलेजो नछेडेसम्म त्यो पछि लागरिरह्यो । त्यो जालतिर कुदिरहरेको चरोजस्तो थियो । आफ्नो ज्यानै गुमाउनुपर्थ्यो भनी त्यसलाई थाहा थिएन । 24अब हे मेरा छोराहरू हो, मेरो कुरा सुन । मेरा मुखका वचनहरूलाई ध्यान देओ । 25तिमीहरूको हृदय त्यसका मार्गहरूमा नलागोस् । त्यसका मार्गहरूमा बरालिएर नजाओ । 26त्यसले धेरै मानिसहरूलाई फसाएकी छे । त्यसका सिकारहरू धेरै छन् । 27त्यसको घर पातालका मार्गहरूमा छ । तिनीहरू मृत्युका अन्धकारपूर्ण कोठाहरूमा जान्छन् ।