1तँ खानलाई शासकसित बस्दा तेरो सामु राखिएको खानेकुरालाई होसियारीपूर्वक अवलोकन गर् । 2तँ धेरै खाने खन्चुवा हो भने तेरो घाँटीमा चक्‍कु राख् । 3तिनको स्वादिष्‍ट खानेकुराको लालसा नगर्, किनकि यो झुटको खाना हो । 4धन-सम्पत्ति कमाउन धेरै नघोट्टी । कहिले बन्द गर्ने भनी थाहा पाउन बुद्धिमानी बन् । 5के यसमाथि तेरो आँखाको ज्योति चम्कन दिन्छस् ? यो बितेर जाने छ, किनकि गरुडका झैँ यसका पखेटाहरू पलाउने छन् र यो आकाशमा उडेर जाने छ । 6दुष्‍ट आँखा भएको मानिसको भोजन नखा, र त्यसको स्वादिष्‍ट खानेकुराको लालसा नगर् । 7किनकि त्यो भोजनको मूल्य गिन्ती गर्ने मानिस हो । त्यसले भन्छ, “खाऊ र पिऊ ।” तर त्यसको हृदय तँसित हुँदैन । 8तैँले खाएको थोरै खानेकुरा पनि तैँले बान्ता गर्ने छस्, र तैँले तेरो तारिफलाई त्यसै खेर जान दिनेछस् । 9मूर्खले सुन्‍ने गरी नबोल्, किनकि त्यसले तेरा वचनहरूको बुद्धिलाई तुच्छ ठान्‍ने छ । 10प्राचीन साँध-सिमानाको ढुङ्गो नहटा वा अनाथहरूको खेतबारी नमिच् । 11किनभने तिनीहरूका उद्धारकर्ता शक्तिशाली हुनुहुन्छ, र उहाँले तेरो विरुद्धमा तिनीहरूको मुद्दा लड्नुहुने छ । 12तेरो हृदयलाई अर्तीतिर लगा, र तेरा कानलाई ज्ञानका वचनहरूमा लगा । 13बच्‍चाबाट अर्तीलाई नरोक्, किनकि तैँले त्यसलाई अनुशासनमा राखिस् भने त्यो मर्ने छैन । 14त्यसलाई छडी लगाउने र पातालबाट त्यसको प्राण जोगाउने तँ नै होस् । 15हे मेरो छोरो, तेरो हृदय बुद्धिमानी छ भने मेरो हृदय पनि प्रसन्‍न हुने छ । 16तेरो ओठले जे ठिक छ, त्यही बोल्दा मेरो अन्तस्करण रमाउने छ । 17तेरो हृदयलाई पापीहरूको ईर्ष्या गर्न नदे, तर दिनैभरि परमप्रभुको भयमा लागिराख् । 18निश्‍चय नै एउटा भविष्य छ, र तेरो आशा निराश हुने छैन । 19हे मेरो छोरो, सुन् र बुद्धिमान् हो, अनि तेरो हृदयलाई सुमार्गमा लगा । 20मातेकाहरू वा धेरै मासु हुसर्नेहरूसित सङ्गत नगर्, 21किनकि मतवाला र घिचुवाहरू गरिब बन्छन्, र यस्तो लट्ठ्याइले तिनीहरूलाई झुत्रे बनाउँछ । 22तँलाई जन्म दिने बुबाको कुरा सुन्, र तेरी आमा वृद्ध हुँदा उनलाई तुच्छ नठान् । 23सत्यलाई किन्, र त्यसलाई नबेच् । बुद्धि, अर्ती र समझशक्तिलाई किन् । 24धर्मात्माको बुबा अत्यन्तै आनन्दित हुने छ, र बुद्धिमान् छोरोलाई जन्म दिने मानिस त्यसमा प्रसन्‍न हुने छ । 25तेरा बुबा र आमा प्रसन्‍न होऊन्, अनि तँलाई जन्म दिने आनन्दित होऊन् । 26हे मेरो छोरो, मलाई तेरो हृदय दे, र तेरा आँखाले मेरा मार्गहरू हेरून् । 27किनभने वेश्या एउटा गहिरो खाडल हो, र अनैतिक स्‍त्री एउटा साँघुरो इनार हो । 28त्यो चोरझैँ ढुकिबस्छे, र त्यसले मानिसहरूका बिचमा विश्‍वासघातीहरूको सङ्ख्या बढाउँछे । 29कोसित कष्‍ट छ ? कोसित शोक छ ? कोसित कलह छ ? कोसित गुनासो छ ? कोसित विनाकारण चोट छ ? कसका आँखा राताराता छन् ? 30तिनीहरूकै जो धेरै मद्य पिउँछन्, जसले मिश्रित मद्य पिउँछन् । 31मद्य रातो हुँदा, कचौरामा त्यसको फिँज उठ्दा र त्यो सहजै उँधो जाँदा त्यसलाई नहेर् । 32अन्त्यमा त्यसले सर्पले झैँ डस्छ, र गोमनले झैँ विष हालिदिन्छ । 33तेरा आँखाहरूले अनौठा कुराहरू देख्‍ने छन्, र तेरो मनले टेडा कुराहरू व्यक्त गर्ने छन् । 34तँ महासमुद्रमा सुतिरहने व्यक्तिझैँ वा मस्तुलको डोरीको मास्तिर बस्‍नेझैँ हुने छ । 35तैँले भन्‍ने छस्, “तिनीहरू मलाई हिर्काए, तर मलाई चोट लागेन ।” तिनीहरूले मलाई पिटे, तर मलाई यसको अनुभूति भएन । म कहिले ब्युँझने छु ? म अर्को चुस्की खोज्ने छु ।”