1हे मेरो छोरो, आफ्नो छिमेकीको ऋणको लागि तँ जमानी बसेको छस्, वा आफूले नचिनेको व्यक्तिको ऋणको लागि तैँले प्रतिज्ञा गरेको छस् भने, 2तेरो प्रतिज्ञाद्वारा तैँले आफैलाई पासो थापेको छस्, र तेरो मुखको वचनद्वारा तँ पक्रिएको छस् । 3हे मेरो छोरो, तेरो वचनद्वारा तँ पक्राउ पर्दा यसो गरेर आफैलाई बचा, किनकि तँ तेरो छिमेकीको हातमा परिसकेको छस् । गएर आफैलाई विनम्र तुल्या, र तेरो छिमेकीको सामु आफ्नो मामला राख । 4आँखामा निद्रा पर्न नदे, र तेरा पलकलाई बन्द हुन नदे । 5सिकारीको हातबाट हरिण उम्केझैँ र व्यधाको हातबाट चरा उम्केझैँ आफैलाई बचा । 6ए अल्छे मानिस, कमिलालाई हेर् । त्यसका चालहरूलाई विचार गरेर बुद्धिमानी बन् । 7त्यसको कुनै अगुवा, हाकिम वा शासक हुँदैन, 8तरै पनि ग्रिष्म ऋतुमा त्यसले आफ्नो भोजन तयार गर्छ, र कटनीको बेला आफ्नो खानेकुरा सञ्चय गर्छ । 9ए अल्छे मानिस, तँ कहिलेसम्म सुत्ने छस् ? तेरो निद्राबाट तँ कहिले ब्युँझने छस् ? 10क्षणिक सुताइ, क्षणिक उँघाइ र आरामको लागि क्षणिक हात बाँध्ने कामले 11गरिबी चोरझैँ आउने छ, र आवश्यकताचाहिँ हतियार भिरेको सिपाहीझैँ आउने छ । 12बेकम्मा व्यक्ति अर्थात् दुष्ट मानिस आफ्नो जाली बोलिवचनद्वारा जिउँछ । 13त्यसले आफ्ना आँखा झिम्काउँछ, आफ्नो खुट्टाले सङ्केत गर्छ र आफ्ना औँलाले इसारा गर्छ । 14त्यसले आफ्नो हृदयमा छल राखेर दुष्ट योजना बनाउँछ । त्यसले सधैँ विवाद निम्त्याउँछ । 15त्यसकारण त्यसको विपत्तिले त्यसलाई एकै क्षणमा आक्रमण गर्ने छ । क्षण भरमा नै निको नहुने गरी त्यो टुट्ने छ । 16छवटा कुरा छन् जसलाई परमप्रभु घृणा गर्नुहुन्छ, र सातौचाहिँ उहाँको लागि घिनलाग्दो छ । 17अहङ्कारी व्यक्तिका आँखा, झुट बोल्ने जिब्रो, निर्दोष मानिसहरूको रगत बगाउने हात, 18दुष्ट योजनाहरू रच्ने हृदय, खराबी गर्न अग्रसर हुने खुट्टा, 19झुट बोल्ने साक्षी र दाजुभाइहरूका बिचमा विवाद उत्पन्न गर्ने मानिस । 20हे मेरो छोरो, आफ्नो बुबाको आज्ञा मान्, र आफ्नी आमाको शिक्षालाई नत्याग् । 21तिनलाई सधैँ तेरो हृदयमा बाँधिराख् । तिनलाई तेरो गलाको वरिपरि बाँधिराख् । 22तँ हिँड्दा तिनले तँलाई अगुवाइ गर्ने छन् । तँ सुत्दा तिनले तेरो हेरचाह गर्ने छन्, र तँ ब्युँझँदा तिनले तँलाई सिकाउने छन् । 23किनकि आज्ञाहरू बत्ती र शिक्षा ज्योति हुन् । निर्देशनद्वारा आउने सुधार जीवनका मार्ग हुन् । 24यसले तँलाई अनैतिक स्त्रीबाट बचाउने छ, र त्यसका चिल्ला वचनहरूबाट जोगाउने छ । 25त्यसको सुन्दरताको कारण तेरो हृदयमा कामवासनाले नजल, र त्यसका आँखाले तँलाई नफसाओस् । 26वेश्यासितको सुताइको मूल्य रोटीको एउटा टुक्रा हुन सक्छ, तर अर्काकी पत्नीको लागि तैँले आफ्नो जीवनै गुमाउनुपर्ने हुन सक्छ । 27के आफ्नो लुगा नडढाइकन कसैले आफ्नो काखमा आगो राख्न सक्छ ? 28के आफ्नो खुट्टा नजलाइकन कुनै मानिस आगोको भुङ्ग्रोमा हिँड्न सक्छ ? 29आफ्नो छिमेकीकी पत्नीसित सुत्ने पुरुष पनि त्यस्तै हुन्छ । त्यससित सुत्ने मानिस दण्डविना उम्कने छैन । 30भोकाएको मानिसले आफ्नो भोक मेट्न चोरी गर्यो भने मानिसहरूले त्यसलाई तुच्छ ठान्दैनन् । 31तापनि त्यो पक्राउ पर्यो भने त्यसले आफूले चोरेको सात गुणा बढी तिर्नुपर्ने हुन्छ । त्यसले आफ्नो घरमा भएको हरेक थोक दिनुपर्ने हुन सक्छ । 32व्यभिचार गर्ने व्यक्ति समझविनाको हुन्छ । यसो गर्नेले आफैलाई नष्ट पार्छ । 33त्यो चोट र लाजको हकदार बन्छ, र त्यसको अपमान मेटिने छैन । 34किनकि लालचले मानिसलाई क्रोधित तुल्याउँछ । त्यसले बदला लिँदा कृपा देखाउने छैन । 35त्यसले कुनै क्षतिपूर्ति स्वीकार गर्ने छैन, र धेरै घुस दिए तापनि त्यसलाई किन्न सकिँदैन ।